एशियाली बजारमा शुक्रबार कच्चा तेलको मूल्य फेरि बढेको छ । स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबीच गोली हानाहान भएपछि विश्व ऊर्जा बजारमा पुनः तनाव बढेको हो ।

अमेरिकी सेनाले इरानले “उक्साहटविनाको आक्रमण” गरेको दाबी गर्दै मिसाइल, ड्रोन र साना डुंगामार्फत आक्रमण प्रयास भएको जनाएको छ । अमेरिकी जहाजहरू खाडी क्षेत्रबाट होर्मुज जलडमरू हुँदै बाहिरिने क्रममा आत्मरक्षाका लागि प्रतिकारात्मक हमला गरिएको अमेरिकी सेनाको भनाइ छ ।

शुक्रबार मध्याह्नसम्म अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुडको मूल्य १ दशमलव ५ प्रतिशतले बढेर प्रति ब्यारेल १०१ दशमलव ६० डलर पुगेको थियो । कारोबारको सुरुआतमा भने यसको मूल्य २ प्रतिशतभन्दा बढीले उकालो लागेको थियो । त्यस्तै अमेरिकी बजारमा कारोबार हुने तेलको मूल्य १ दशमलव १ प्रतिशतले बढेर प्रति ब्यारेल ९५ दशमलव ८७ डलर पुगेको छ ।

यसअघि अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले अप्रिल २१ मा अमेरिका–इरान युद्धविराम अनिश्चितकालका लागि लम्ब्याउँदै शान्ति वार्तालाई थप समय दिने घोषणा गरेका थिए ।

तनाव बढेपछि ट्रम्पले वार्ता जारी रहेको बताउँदै इरानले कहिल्यै पनि आणविक हतियार राख्न नपाउने वासिङ्टनको अडान दोहोर्‍याएका छन् ।

उनले सञ्चारकर्मीसँग भने, “वार्ता निकै राम्रो भइरहेको छ । तर यदि सम्झौता भएन भने उनीहरूले ठूलो पीडा भोग्नुपर्नेछ । मलाई लाग्छ, सम्झौता उनीहरूलाई मभन्दा बढी आवश्यक छ ।”

अष्ट्रेलियाको एक विश्वविद्यालयका सह–प्राध्यापक जियाजिया याङका अनुसार होर्मुज क्षेत्रमा सैन्य गतिविधि बढ्दा ऊर्जा आपूर्तिमा थप अवरोध आउने चिन्ताले तेलको मूल्य फेरि बढाएको हो ।

त्यस्तै नेश्नल युनिभर्सिटीका अर्थशास्त्र अनुसन्धानकर्ता हुइफेङ चाङले युद्धविरामलाई “नाजुक अवस्था” मा रहेको भन्दै अमेरिका र इरानले तनाव कम देखाउन खोजे पनि बजारले जोखिमलाई गम्भीर रूपमा लिएको बताएका छन् ।

ट्रम्पका अनुसार पछिल्लो घटनामा अमेरिकी नौसेनाका तीनवटा डिस्ट्रोयर जहाज संलग्न थिए । उनले सामाजिक सञ्जालमार्फत इरानका केही साना डुंगा पूर्ण रूपमा ध्वस्त पारिएको र अमेरिकी जहाजलाई लक्षित मिसाइलहरू सजिलै निष्क्रिय बनाइएको दाबी गरेका छन् ।