इरान युद्धका कारण कच्चा पदार्थको आपूर्ति प्रभावित भएपछि जापानको चर्चित स्न्याक्स उत्पादक कम्पनी क्याल्बीले आफ्ना केही लोकप्रिय उत्पादनहरू अस्थायी रूपमा कालो–सेतो प्याकेजिङमा बिक्री गर्ने भएको छ ।

कम्पनीले चिप्स र प्राउन क्र्याकरसहित १४ प्रकारका उत्पादन नयाँ शैलीको प्याकेटमा आगामी मे २५ देखि जापानी बजारमा उपलब्ध गराइने जनाएको छ ।

इरानमाथि अमेरिका र इजरायलले गरेको आक्रमणपछि प्रतिशोधस्वरूप इरानले होर्मुज जलडमरूमध्य प्रभावकारी रूपमा बन्द गरेपछि विश्वव्यापी आपूर्ति प्रणाली प्रभावित हुँदै गएको छ । यसको असर दैनिक उपभोग्य वस्तुहरूमा समेत देखिन थालेको हो ।

हालैका साताहरूमा इन्धन, प्लास्टिक र हिलियमजस्ता सामग्रीको आपूर्ति अवरुद्ध हुँदा विश्वभरका कम्पनीहरूले लागत बढेको चेतावनी दिएका छन् ।

क्याल्बीले जारी गरेको वक्तव्यमा मध्यपूर्वमा जारी तनावका कारण मसी (इंक) उत्पादनमा प्रयोग हुने कच्चा पदार्थको आपूर्ति अस्थिर बनेपछि प्याकेजिङ परिवर्तन गर्नुपरेको उल्लेख गरिएको छ ।

“उत्पादनको स्थिर आपूर्ति कायम राख्न यो कदम चालिएको हो,” कम्पनीले जनाएको छ ।

फेब्रुअरी २८ देखि सुरु भएको द्वन्द्वपछि होर्मुज जलडमरूमध्यमार्फत हुने ढुवानी रोकिँदा तेल तथा ग्यासको मूल्य तीव्र रूपमा बढेको छ । तेल प्रशोधनबाट प्राप्त हुने ‘नेफ्था’को आपूर्तिमा पनि ठूलो असर परेको छ । नेफ्था इंक र प्लास्टिक उत्पादनमा प्रयोग हुने महत्वपूर्ण पदार्थ हो ।

एशियामा नेफ्थाको मूल्य युद्ध सुरु भएयता झण्डै दोब्बर पुगेको छ, जसले क्षेत्रीय उद्योगहरूको लागत बढाएको छ ।

जापानका उपमुख्य मन्त्रिपरिषद् सचिव केइ साटाेका अनुसार युद्धअघि जापानले प्रयोग गर्ने करिब ४० प्रतिशत नेफ्था मध्यपूर्वबाट आयात गर्ने गरेको थियो । सरकारले अहिले आपूर्ति असन्तुलन र अवरोध समाधान गर्न पहल गरिरहेको उनले बताएका छन् ।

जापानी प्रधानमन्त्री सनइ टाकाइचीलेले अप्रिलमा जापानले नेफ्थाको आपूर्ति स्रोत विस्तार गर्दै अमेरिका लगायत मध्यपूर्व बाहिरका देशबाट पनि आयात बढाउने योजना बनाएको जानकारी दिएकी थिइन् ।

इरान युद्धको असर विशेषगरी एशियाली मुलुकहरूमा बढी परेको छ, किनकि ती देशहरू ऊर्जा र तेलजन्य पदार्थका लागि मध्यपूर्वमा अत्यधिक निर्भर छन् ।

मे १ मा जापानी खाद्य उत्पादक मिज्कानले पोलिस्टाइरिन कन्टेनरको अभावका कारण आफ्ना केही उत्पादनको बिक्री रोक्नुका साथै केही वस्तुको मूल्य बढाएको थियो ।

उता टाेयाेटा र ह्युण्डाइ जस्ता सवारी उत्पादक कम्पनीहरूले पनि कच्चा पदार्थको मूल्यवृद्धि र बिक्री घट्दा नाफामा असर परेको बताएका छन् ।

युद्धका कारण जेट इन्धन महँगिएपछि विश्वभरका धेरै विमान कम्पनीहरूले उडान स्थगित गरेका छन् भने केही विमान ग्राउन्डेड अवस्थामा राखिएका छन् ।

यस्तै बेलायतको फेसन कम्पनी नेक्स्टले इन्धन मूल्य वृद्धि र विश्वव्यापी आपूर्ति श्रृंखलामा आएको अवरोधका कारण युरोप बाहिरका केही देशमा आफ्ना उत्पादनको मूल्य ८ प्रतिशतसम्म बढाएको जनाएको छ ।