अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा निस्किँदा उनीसँग अमेरिकी प्रविधि तथा व्यापार क्षेत्रका चर्चित कार्यकारीहरू पनि सहभागी भएका छन् ।

सी जिनपिङसँग हुने उच्चस्तरीय भेटवार्तालाई लक्षित गर्दै ट्रम्पले एआई, सेमिकन्डक्टर, वित्त, उत्पादन र सामाजिक सञ्जाल क्षेत्रका शीर्ष कम्पनी प्रमुखहरूलाई बेइजिङ यात्रामा समावेश गरेका हुन् ।

ट्रम्पको प्रतिनिधिमण्डलमा एनभिडियाका प्रमुख जान्सेन हुवा, एप्पलका टीम कुक, टेस्ला तथा स्पेस एक्सका इलन मस्क साथै ब्लाकरकका लारी फिन्क सहभागी छन् ।

यस बाहेक मेटा, भिजा, जेपी मर्गान, बोइङ, कार्गिल लगायतका कम्पनीका उच्च अधिकारीहरू पनि भ्रमण टोलीमा छन् ।

विशेष चासोको विषय भने जान्सेन हुवाको अन्तिम समयमा टोलीमा समावेश हुनु बनेको छ । एआई चिप उत्पादनमा अग्रणी रहेको एनभिडिया अहिले अमेरिका–चीन प्रविधि प्रतिस्पर्धाको केन्द्रमा छ । अमेरिकी निर्यात नियन्त्रण र चीनमाथिका प्रविधि प्रतिबन्धबीच एनभिडियाका चिपहरू दुवै देशबीचको तनावको प्रमुख विषय बन्दै आएका छन् ।

बीबीसीका अनुसार प्रारम्भिक सूचीमा नपरेपछि ट्रम्पले स्वयं हुआङलाई फोन गरेर भ्रमणमा सहभागी हुन आग्रह गरेका थिए । त्यसपछि उनी अलास्काको एन्कोरेजमा इन्धन भर्न रोकिएको एयर फोर्स वनमार्फत बेइजिङतर्फ प्रस्थान गरेका थिए ।

प्रतिनिधिमण्डलमा  माइक्रोन टेक्नोलोजीका प्रमुख सञ्जय मेह्राेट्राकाे उपस्थिति पनि अर्थपूर्ण मानिएको छ । चीनले सन् २०२३ मा राष्ट्रिय सुरक्षाको कारण देखाउँदै माइक्रोनका केही चिपहरू महत्त्वपूर्ण पूर्वाधारमा प्रयोग गर्न प्रतिबन्ध लगाएको थियो, जसले कम्पनीको चिनियाँ व्यापारमा असर परेको बताइएको थियो ।

अमेरिका र चीनबीच व्यापार तथा प्रविधि क्षेत्रमा बढ्दो प्रतिस्पर्धाका बीच यो भ्रमणलाई निकै महत्त्वका साथ हेरिएको छ । दुई देशबीच केही समयअघि १०० प्रतिशतभन्दा माथिसम्म पुगेको पारस्परिक भन्सार शुल्कलाई गत वर्ष अस्थायी रूपमा स्थगित गरिएको थियो । अब ट्रम्प–सी भेटलाई त्यस व्यापारिक तनावपछि बनेको नाजुक समझदारीको परीक्षणका रूपमा हेरिएको छ ।

भेटवार्तामा इरान युद्धको विषय पनि प्रमुख एजेन्डा बन्ने अपेक्षा गरिएको छ । अमेरिका र इजरायलको इरानसँगको युद्धका कारण यसअघि ट्रम्प–सी भेट केही समय पर धकेलिएको थियो । ट्रम्पले इरानबाट सस्तो तेल आयात गर्दै आएको चीनलाई तेहरान र वाशिङ्टनबीच सहमति गराउन सहयोग गर्न आग्रह गर्ने सम्भावना रहेको बताइएको छ ।

यद्यपि युद्धका कारण विश्व तेल आपूर्तिमा दबाब बढे पनि विशाल सञ्चिति र विविध ऊर्जा स्रोतका कारण चीनले अन्य धेरै मुलुकको तुलनामा यसको असर अपेक्षाकृत कम भोगिरहेको विश्लेषण गरिएको छ ।