सरकारले तीन करोड रुपैयाँभन्दा माथिको थैली अंक भएको घरजग्गा कारोबार इजाजतपत्र प्राप्त कम्पनीबाट मात्रै गर्ने निर्णय मंगलबारदेखि लागू भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले सोमबार सूचना जारी गर्दै यसअघि स्थगित गरिएको व्यवस्था कार्यान्वयन गर्न परिपत्र गरेको हो ।
विभागले भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजार, ललितपुर, विराटनगर, इनरुवा, वीरगन्ज, कलैया, जनकपुरधाम, नेपालगन्ज, घोराही र धनगढी र मालपोत कार्यालय कंलकी, चाबहिल, धरान, सिमरा, हेटौडा, भरतपुर,चनौली, पोखरा लेखनाथ, तुलसीपुर र बुटवललाई परिपत्र गरेको हो ।
विभागले ११ फागुनमा सूचना जारी गर्दै २५ फागुनदेखि कम्पनीबाट मात्रै अनिवार्य कारोबारको व्यवस्था गरेको थियो । तर विभागले १९ फागुनमा सूचना जारी गर्दै लाइसेन्स पाएका कम्पनीले भू-सेवा केन्द्र सञ्चालनको अनुमति नलिएसम्मका लागि स्थगित गरेको छ । भू-सेवा केन्द्र सञ्चालन गरी भू-सूचना प्रणालीको माध्यमबाट घरजग्गासम्बन्धी कारोबार गर्नुपर्ने कानुनी व्यवस्था छ । लाइसेन्स पाएका कम्पनीले भू-सेवा केन्द्र सञ्चालनको अनुमति नलिएसम्मका लागि यसअघि गरिएको परिपत्र तत्काललाई स्थगित गरिएको हो ।
विभागका अनुसार हालसम्म घरबारी सेवा, एस के होम रियल स्टेट कम्पनी, नेपाल ल्यान्ड ब्रोकर र हिमालयन रियल्टर्सले भू-सेवा केन्द्र सञ्चालनका लागि इजाजत पत्र लिइसकेको छ । घरजग्गा कारोबार गर्न इजाजत पत्र लिइसकेका कम्पनीले भूसेवा केन्द्र सञ्चालनका लागि अनुमति लिएसागै विभागले उक्त व्यवस्था लागु गरेको हो ।

टिप्पणी थप्नुहोस्