विश्व स्वास्थ्य संगठनले कंगोमा फैलिएको इबोला संक्रमणलाई अन्तर्राष्ट्रिय चासोको भन्दै सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।

डब्ल्यूएचओका अनुसार कंगोको पूर्वी इटुरी प्रान्त क्षेत्रमा हालसम्म करिब २४६ शंकास्पद संक्रमित र ८० जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ । यद्यपि यसले महामारीको स्तरको आपतकालीन अवस्था पूरा नगरे पनि संक्रमण अझ ठूलो रूपमा फैलिन सक्ने जोखिम रहेको चेतावनी दिइएको छ ।

हाल फैलिएको इबोला संक्रमण ‘बुन्डिबुग्यो भाइरस’का कारण भएको डब्ल्यूएचओले जनाएको छ । यो भाइरसका लागि हालसम्म स्वीकृत औषधि वा खोप उपलब्ध छैन ।

इबोलाका प्रारम्भिक लक्षणमा ज्वरो, मांसपेशी दुख्ने, थकान, टाउको दुख्ने र घाँटी दुख्ने समस्या देखिन्छ । पछि बान्ता, पखाला, शरीरमा दाना आउने तथा रक्तश्राव हुने लक्षण देखा पर्न सक्छन् ।

डब्ल्यूएचओका अनुसार हाल आठ जनामा प्रयोगशालाबाट संक्रमण पुष्टि भएको छ । संक्रमितहरू बुनियाऽ मङ्गवालु र वाम्पारा क्षेत्रमा भेटिएका छन् ।

राजधानी किन्शासामा पनि एक संक्रमित पुष्टि भएको छ । उनी इटुरीबाट फर्किएका व्यक्ति रहेको बताइएको छ ।

संक्रमण कंगो बाहिर पनि फैलिएको छ । छिमेकी युगान्डामा दुई जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँ ५९ वर्षीय एक व्यक्तिको मृत्यु भइसकेको अधिकारीहरूले बताएका छन् ।

डब्ल्यूएचओले कंगोमा जारी सुरक्षा संकट, मानवीय समस्या, उच्च जनसंख्या आवतजावत, सहरी क्षेत्रमा संक्रमण देखिनु तथा अनौपचारिक स्वास्थ्य संस्थाहरूको संख्या धेरै भएकाले संक्रमण फैलिने जोखिम बढेको जनाएको छ ।

कंगोसँग सीमा जोडिएका देशहरू व्यापार र यात्राका कारण उच्च जोखिममा रहेको चेतावनी दिइएको छ । डब्ल्यूएचओले कंगो र युगान्डालाई आपतकालीन सञ्चालन केन्द्र स्थापना गरी संक्रमितको निगरानी, पहिचान र रोकथामका उपाय लागू गर्न सुझाव दिएको छ ।

इबोला संक्रमितलाई तुरुन्त अलग राखी उपचार गर्नुपर्ने तथा कम्तीमा ४८ घण्टाको अन्तरमा गरिएका दुई परीक्षण नेगेटिभ आएपछि मात्र डिस्चार्ज गर्नुपर्ने डब्ल्यूएचओको भनाइ छ ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम घेब्रेससले संक्रमितको वास्तविक संख्या र संक्रमण फैलिएको क्षेत्रबारे अझै स्पष्ट जानकारी नभएको बताएका छन् ।

इबोला पहिलो पटक सन् १९७६ मा हालको कंगोमा फेला परेको थियो । चमेरोबाट मानिसमा सरेको मानिने यो भाइरस शरीरका तरल पदार्थको प्रत्यक्ष सम्पर्कबाट फैलिन्छ । यसले अत्यधिक रक्तश्राव र अंग फेल हुने समस्या निम्त्याउँछ ।

डब्ल्यूएचओका अनुसार इबोलाको औसत मृत्युदर करिब ५० प्रतिशत रहेको छ । पछिल्लो ५० वर्षमा अफ्रिकामा मात्रै करिब १५ हजार मानिसको मृत्यु इबोलाका कारण भएको बताइएको छ ।