नवनियुक्त प्रधानन्यायाधीश मनोजकुमार शर्माले मंगलबार पद तथा गोपनीयताको शपथ लिएसंगै पदभार ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएलगत्तै उनी सर्वोच्च अदालत पुगेर औपचारिक रूपमा कार्यभार सम्हालेका हुन् ।

यसअघि मंगलबार नै संसदीय सुनुवाइ समितिले शर्माको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको थियो । संविधानको धारा १२९ को उपधारा २ अनुसार संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उनलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका हुन् ।

न्याय परिषद्ले पठाएका ६ जनाको नाममध्ये सर्वोच्च अदालतका न्यायाधीश शर्मालाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो । शपथसंगै उनले सर्वोच्च अदालतको नेतृत्व सम्हालेका छन् ।