अमेरिकाले सन् १९९६ मा फ्लोरिडा र क्युबाबीचको क्षेत्रमा दुई विमान खसालिएको घटनामा षड्यन्त्र रचेको भन्दै पूर्व क्युबाली नेता राउल क्यास्ट्रो विरुद्ध मुद्दा दायर गरेको छ । क्यास्ट्रोविरुद्ध अमेरिकी नागरिकको हत्या गर्न षड्यन्त्र र अन्य अपराधसम्बन्धी आरोप अमेरिकाले लगाएको छ । बुधबार सार्वजनिक गरिएको अभियोगमा क्यास्ट्रोसहित पाँच जनालाई ‘ब्रदर्स टु द रेस्क्यु’ नामक क्युबा–अमेरिकी समूहका विमान खसालेर चार जनाको हत्या गरेको आरोप लगाइएको हो । मृत्यु हुनेमध्ये तीन जना अमेरिकी नागरिक थिए ।

हाल ९४ वर्ष पुगेका क्यास्ट्रो त्यतिबेला क्युबाको सशस्त्र सेनाका प्रमुख थिए । उक्त घटनापछि क्युबाले अन्तर्राष्ट्रिय स्तरमा तीव्र आलोचना सामना गर्नुपरेको थियो । अमेरिकाले अहिले क्युबामाथि थप राजनीतिक दबाब बढाइरहेका बेला राष्ट्रपति मिगुएल डियाज क्यानेलले यी आरोपलाई “कुनै कानुनी आधार नभएको राजनीतिक चाल” बताएका छन् ।

मियामीस्थित ‘फ्रिmडम टावर’मा आयोजित कार्यक्रममा कार्यवाहक अमेरिकी महान्यायाधिवत्ता टोड ब्लान्चले क्यास्ट्रोमाथि विमान नष्ट गरेको, साथै चार व्यक्तिको हत्या गरेको अभियोग पनि दर्ता गरिएको जानकारी दिए ।

ब्लाञ्चले अमेरिका र राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्ना नागरिकलाई कहिल्यै नबिर्सने बताएका छन् । हत्या अभियोगमा दोषी ठहर भए क्यास्ट्रोविरुद्ध मृत्युदण्ड वा आजीवन कारावाससम्मको सजाय हुन सक्ने उल्लेख गरिएको छ ।

यस कदमलाई अमेरिकाले क्युबाको कम्युनिस्ट शासनमाथि दबाब बढाउने रणनीतिको हिस्सा मानिएको छ । अमेरिकन विश्वविद्यालयका ल्याटिन अमेरिकी राजनीति विज्ञ

विलियम लियोग्रान्डका अनुसार वाशिङ्टनले क्रमिक रूपमा दबाब बढाएर क्युबाली सरकारलाई वार्ताको टेबलमा झुकाउन खोजिरहेको छ ।

अमेरिकाले क्युबामाथि लगाएको प्रतिबन्ध तथा तेल आपूर्तिमा गरिएको नाकाबन्दीका कारण क्युबामा लामो समयदेखि विद्युत् कटौती र खाद्य अभावको समस्या बढिरहेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबाको स्वतन्त्रता दिवसका अवसरमा दिएको सन्देशमा राष्ट्रपति ट्रम्पले अमेरिका र नयाँ क्युबाबीच नयाँ बाटो प्रस्ताव गरिरहेको बताएका थिए । उनले क्युबाको सैनिक समूहलाई देशको आर्थिक संकट र विद्युत् समस्याका लागि जिम्मेवार ठहर गरेका छन् ।
यता राष्ट्रपति डियाज–कानेलले अमेरिकामाथि झूट प्रचार गरेर क्युबाली जनतालाई सामूहिक दण्ड दिएको आरोप लगाएका छन् । उनले विमान खसालिएको घटनालाई क्युबाले “आफ्नो क्षेत्रीय अधिकारभित्र वैध आत्मरक्षा” का रूपमा लिएको दाबी गरेका छन् ।

पत्रकारहरूले क्यास्ट्रोलाई अमेरिकामा ल्याएर मुद्दा चलाउने सम्भावनाबारे सोध्दा ब्लाञ्चले उनको गिरफ्तारीका लागि वारेन्ट जारी भएको पुष्टि गरे ।

सन् २००८ देखि २०१८ सम्म क्युबाको राष्ट्रपति रहेका र दिवंगत नेता फिडेल क्यास्ट्रोका भाइ राउल क्यास्ट्रो अहिले सक्रिय राजनीतिबाट टाढा भए पनि क्युबाली क्रान्तिका जीवित प्रतीकका रूपमा प्रभावशाली मानिन्छन् । उनले पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामासँग मिलेर अमेरिका–क्युबा सम्बन्ध सुधारको छोटो प्रयाससमेत गरेका थिए ।