नेपाल भ्रमणमा रहेको युरोपेली प्रतिनिधिमण्डलले नेपालको आर्थिक रूपान्तरण, सुशासन र रोजगारी सिर्जनालाई केन्द्रमा राखेर सहकार्य विस्तार गर्न आफूहरू तयार रहेको जनाएको छ । प्रतिनिधिमण्डलले नेपाल सरकारले अघि सारेका आर्थिक वृद्धि, लगानी प्रवर्द्धन र विकासका प्राथमिकताप्रति सकारात्मक धारणा व्यक्त गर्दै आगामी दिनमा शिक्षा, पर्यटन, व्यापार तथा जनस्तरको सम्बन्ध विस्तारमा सहकार्य अझ गहिरो बनाइने बताएको हो ।

मंगलबार प्रधानमन्त्री बालेन शाहसँग भेट गरेको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री  शिशिर खनाल पर्यटनमन्त्री खड्गराज पौड्याललगायतसँग पनि छलफल गरेको थियो। भ्रमणको अन्त्यमा आयोजित पत्रकार सम्मेलनमा प्रतिनिधिमण्डलले नेपालको विकास यात्रामा युरोपेली साझेदारीलाई थप प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको जनाएको छ ।

प्रतिनिधिमण्डलले पछिल्ला वर्षहरूमा नेपाल र युरोपबीच जनस्तरको सम्बन्ध तीव्र रूपमा विस्तार भइरहेको उल्लेख गर्दै विशेषगरी नेपाली विद्यार्थी र कामदारहरूको युरोपप्रतिको आकर्षण बढ्दै गएको जनाएको छ। यसले दीर्घकालीन रूपमा आर्थिक, शैक्षिक तथा सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ ।

प्रतिनिधिमण्डलकी प्रमुख भेरोनिक लोरेन्जोले नेपाली विद्यार्थीहरूले उच्च शिक्षाका लागि युरोपलाई प्राथमिकतामा राख्न थालेको बताउँदै ‘इरास्मस’ कार्यक्रमलाई स्नातकोत्तर अध्ययनका लागि महत्वपूर्ण अवसरका रूपमा उल्लेख गर्नुभयो । उहाँका अनुसार छात्रवृत्तिबिना समेत युरोपमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरूको संख्या उल्लेख्य रूपमा बढिरहेको छ, जसले मानव पूँजी विकास र अन्तर्राष्ट्रिय नेटवर्क विस्तारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

पर्यटन क्षेत्रबारे प्रतिनिधिमण्डलले हालै सार्वजनिक गरिएको नयाँ पर्यटन रणनीतिपछि नेपालमा सकारात्मक ऊर्जा र गतिशीलता देखिएको उल्लेख गरेको छ । नेपाल पर्यटन बोर्ड तथा पर्यटन क्षेत्रका सरोकारवाला निकायहरू पर्यटन प्रवर्द्धनमा थप सक्रिय भएको भन्दै युरोपेली राष्ट्रहरूले आफ्नो अनुभव, प्रविधि र विज्ञता नेपालसँग साझा गर्न सक्ने विश्वास व्यक्त गरिएको छ ।

प्रतिनिधिमण्डलले आगामी दिनमा नेपालसँगको सहकार्यलाई आर्थिक विकास, शिक्षा, पर्यटन, रोजगारी तथा जनस्तरको सम्बन्ध विस्तारतर्फ केन्द्रित गरिने जनाएको छ । नेपालको स्थायित्व, खुला आर्थिक वातावरण र युवा जनशक्तिले युरोपेली साझेदारीका लागि नयाँ अवसर सिर्जना गरिरहेको प्रतिनिधिमण्डलको निष्कर्ष थियो ।