नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को हालै सम्पन्न ६०औँ वार्षिक साधारणसभा तथा निर्वाचनबाट पञ्चकन्या कंक्रिट प्रिमिक्स प्रालिका उज्ज्वलकुमार श्रेष्ठ कार्यकारिणी सदस्यमा निर्वाचित भएका छन् ।

पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशकसमेत रहेका श्रेष्ठ एसोसिएटतर्फबाट कार्यकारिणी सदस्यमा निर्वाचित भएका हुन् । महासंघको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनबाट अञ्जन श्रेष्ठ अध्यक्षमा निर्वाचित भएसँगै नयाँ कार्यसमितिले जिम्मेवारी सम्हाल्न थालेको छ ।

निर्वाचनपछि महासंघमा उद्योग, व्यापार तथा निजी क्षेत्रका विविध क्षेत्रबाट प्रतिनिधित्व गर्ने नयाँ नेतृत्व आएको छ । निर्माण तथा पूर्वाधार क्षेत्रमा सक्रिय व्यवसायीका रूपमा चिनिएका उज्ज्वलकुमार श्रेष्ठको निर्वाचनलाई निजी क्षेत्रभित्र युवा र व्यावसायिक नेतृत्वको उपस्थितिका रूपमा हेरिएको छ ।

पञ्चकन्या ग्रुप लामो समयदेखि स्टिल, निर्माण सामग्री तथा औद्योगिक क्षेत्रमा सक्रिय रहँदै आएको छ । श्रेष्ठको महासंघ प्रवेशसँगै निर्माण तथा उत्पादनमूलक उद्योगका मुद्दा थप सशक्त रूपमा उठ्ने अपेक्षा गरिएको छ ।