काठमाडौंको चक्रपथअन्तर्गत कलंकी–बसुन्धरा खण्ड बिस्तारका लागि नेपाल र चीनबीच सम्झौता भएको छ । चक्रपथ बिस्तारको दोश्रो चरण अन्तर्गत ८.२ किलोमिटर रहेको सो खण्ड बिस्तारका लागि आज बुधबार नेपाल र चीनबीच सहायता सम्झौता सम्पन्न भएको हो ।

आज एक कार्यक्रमका बीच सम्झौतापत्रमा भौतिक पूर्वाधार, यातायात तथा शहरी विकास मन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत झांग माओमिंगले आज हस्ताक्षर गर्नुभएको छ । सम्झौताअनुसार, चक्रपथ विस्तारको दोस्रो चरणमा कलंकीदेखि बसुन्धारासम्मको सडक तथा पुल निर्माण गरिनेछ । यस परियोजनाका लागि चीन सरकारले करिब ११ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउनेछ ।

यसअघि पहिलो चरणमा कोटेश्वरदेखि कलंकीसम्मको सडक विस्तारकार्य सन् २०१९ देखि सुरु भई सम्पन्न भइसकेको छ । सम्झौतापछि मन्त्री लम्सालले परियोजना कार्यान्वयनका क्रममा समस्या उत्पन्न भए एक दिनमै समाधान गरी आवश्यक सहजीकरण गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उत्तर–दक्षिण जोड्ने सडक निर्माण सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै उहाँले नेपालको पूर्वाधार विकासमा चीन सरकारबाट थप लगानीको अपेक्षा व्यक्त गर्नुभयो । सो क्रममा चिनियाँ राजदूत माओमिंगले उपयुक्त लगानी वातावरण बनेमा धेरै चिनियाा लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको बताउनुभयो ।