अमेरिकाले स्ट्रेट अफ हर्मुजमा अवरुद्ध जहाजहरूको आवागमन सहज बनाउन सैन्य सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको तनावका बीच समुद्रीी मार्ग खुला राख्न प्रोजेक्ट फ्रिडम नामक अभियान सुरु गरिने बताएका हुन् ।

उक्त अभियान मध्यपूर्व समयअनुसार सोमबार बिहानदेखि लागू हुने जनाइएको छ । ट्रम्पका अनुसार यो कदम मुख्यतः तटस्थ देशका जहाजहरूलाई सुरक्षित रूपमा गन्तव्यतर्फ लैजान केन्द्रित हुनेछ । उनले धेरै जहाजहरूमा खाद्यान्न अभाव देखिन थालेकाले यसलाई मानवीय पहलका रूपमा अघि बढाइएको पनि उल्लेख गरेका छन् ।

करिब १५,००० सैनिक, गाइडेड–मिसाइल डिस्ट्रोयर जहाज र १०० भन्दा बढी विमान अभियानमा परिचालन गरिने अमेरिकाको केन्द्रीय कमाण्डले जनाएको छ । कमाण्ड प्रमुखले यो अभियानले अन्तर्राष्ट्रिय समुद्री मार्गको स्वतन्त्रता कायम राख्न सहयोग पुर्‍याउने दाबी गरेका छन् । करिब २०,००० नाविक र २,००० जहाज लामो समयदेखि सो क्षेत्रमा अलपत्र परेको अन्तर्राष्ट्रिय समुद्री संगठनले जनाएको छ ।

विश्वको अत्यन्तै महत्वपूर्ण ऊर्जा आपूर्ति मार्ग मानिने हर्मुजबाट विश्वको ठूलो हिस्सा तेल तथा ग्यास ढुवानी हुन्छ । यस्तो अवस्थामा जहाजहरू अवरुद्ध हुनु र सैन्य तनाव बढ्नुले विश्व बजारमा कच्चा तेलको मूल्य अस्थिर बनाउदै गएको छ ।
तेल मूल्य वृद्धि हुँदा ढुवानी लागत बढ्ने, जसको प्रत्यक्ष असर खाद्य सामग्रीदेखि औद्योगिक उत्पादनसम्म पर्न थालेको छ । नेपालजस्ता आयातमा निर्भर देशहरूमा इन्धन महँगो हुँदा महँगी बढ्ने, व्यापार घाटा विस्तार हुने र समग्र आर्थिक गतिविधिमा दबाब पर्ने जोखिम छ ।

यद्यपि, यदि प्रोजेक्ट फ्रिडम जस्ता पहलहरूले समुद्री मार्ग पुनः सञ्चालनमा ल्याउन सफल भए आपूर्ति श्रृंखला सहज भई बजारमा स्थिरता ल्याउन मद्दत पुग्न सक्छ । त्यसैले यो अभियानलाई केवल सुरक्षा मात्र नभई विश्व अर्थतन्त्र स्थिर राख्ने प्रयासका रूपमा पनि हेरिएको छ ।