नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले पूर्वाधार विकासमा निजी क्षेत्रलाई प्रभावकारी रूपमा सहभागी गराउन सके लगानी अभावको समस्या समाधान हुने बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित प्रि-बजेट कन्फ्रेन्समा बोल्दै उनले सरकारले निजी क्षेत्रलाई विश्वास गर्ने वातावरण बनाउनुपर्ने आवश्यकता औंल्याए ।
उनले पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण निर्माण क्षेत्र गम्भीर दबाबमा परेको उल्लेख गर्दै लागत व्यवस्थापन गर्न कठिन भएको बताए । निर्माण व्यवसायीहरूले समस्या समाधानका लागि सरकारी निकायसँग पटक–पटक आग्रह गरे पनि स्पष्ट निर्णय हुन नसकेको उनको भनाइ थियो ।
पाण्डेका अनुसार अहिलेको आर्थिक अवस्था र सीमित सरकारी स्रोतका कारण ठूला पूर्वाधार आयोजना अघि बढाउन निजी लगानी अपरिहार्य बन्दै गएको छ । उनले जलविद्युत् क्षेत्रबाहेक अन्य पूर्वाधार क्षेत्रमा निजी क्षेत्रको पर्याप्त उपस्थिति नरहेको उल्लेख गरे ।
विश्व बैंक र एशियाली विकास बैंकजस्ता अन्तर्राष्ट्रिय निकायले समेत पूर्वाधार निर्माणमा निजी क्षेत्रलाई थप समेट्न सुझाव दिँदै आएको उनले बताए । आगामी बजेटमार्फत सरकारले निजी क्षेत्रमैत्री नीति ल्याउने अपेक्षा पनि उनले व्यक्त गरे ।
उनले देशको अर्थतन्त्रलाई ठूलो आकारमा विस्तार गर्न द्रुत र आधुनिक सडक सञ्जाल आवश्यक रहेको उल्लेख गर्दै काठमाडौंबाट देशका प्रमुख शहरमा छोटो समयमा पुग्न सकिने पूर्वाधार विकास गर्नुपर्ने धारणा राखे ।

टिप्पणी थप्नुहोस्