संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ। अधिवेशनअन्तर्गत आज अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठक बस्ने कार्यसूची तय गरिएको छ।

संघीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेका अनुसार आजको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।

सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिने आजको बैठकलाई बजेट अधिवेशनको औपचारिक सुरुआतका रूपमा हेरिएको छ। नीति तथा कार्यक्रममाथि दुवै सदनमा छलफल भएपछि सरकारले आगामी जेठ १५ गते संघीय संसद्मा वार्षिक बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था रहेको छ।

संघीय संसद् सचिवालयले संयुक्त बैठकका लागि प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्य तथा अन्य आमन्त्रित अतिथिहरूलाई अपराह्न ३ः४५ बजेसम्म सिंहदरबारस्थित प्रतिनिधिसभा कक्ष (बहुउद्देश्यीय भवन) मा उपस्थित हुन आग्रह गरेको छ।