आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त तथा प्राथमिकता बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरिने भएको छ ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले बुधबार अर्थ समितिको बैठकमा यसबारे जानकारी दिएका हुन् । उनले सांसदहरूबाट प्राप्त सुझावलाई आगामी बजेट निर्माण प्रक्रियामा समेटिने बताए ।
उनका अनुसार सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणापत्रसँग धेरै हदसम्म मेल खाने खालको रहेको छ । बजेट निर्माणको तयारी भइरहेका बेला विभिन्न सांसदहरू बजेट मागसहित अर्थ मन्त्रालय पुग्ने क्रम भने अझै जारी रहेको उनले उल्लेख गरे ।
नयाँ सरकार गठन हुनुअघि नै बजेटको सिलिङ पठाइसकिएकाले अहिले स्रोत व्यवस्थापनका लागि पर्याप्त ‘स्पेस’ नरहेको पनि अर्थमन्त्री वाग्लेले बताए ।
प्रचलित कानुनी व्यवस्था अनुसार बजेट सार्वजनिक हुनुभन्दा कम्तीमा १५ दिनअघि बजेटका सिद्धान्त तथा प्राथमिकता संसदमा पेश गर्नुपर्ने प्रावधान रहेको छ ।

टिप्पणी थप्नुहोस्