अष्ट्रेलियाको क्वीन्सल्यान्डमा निर्माण गर्ने योजना बनाइएको १ अर्ब ५० करोड अष्ट्रेलियन डलर (करिब १.१ अर्ब अमेरिकी डलर) बराबरको ट्रम्प टावर परियोजना रद्द भएको छ । अष्ट्रेलियाली डेभलपर कम्पनीले डोनाल्ड ट्रम्पको ‘ट्रम्प ब्रान्ड’ अष्ट्रेलियामा झन् “विषाक्त” बन्दै गएको र इरान युद्धका कारण परियोजना अघि बढाउन कठिन भएको जनाएको छ ।
यो परियोजना घोषणा भएको तीन महिनामै रद्द गरिएको हो । गोल्ड कोस्टमा निर्माण गर्ने भनिएको ९१ तले लक्जरी होटल अष्ट्रेलियाकै सबैभन्दा अग्लो भवन बन्ने दाबी गरिएको थियो । ३३५ मिटर उचाइ हुने भनिएको उक्त भवन द शार्ड भन्दा पनि अग्लो हुने बताइएको थियो ।
परियोजनासम्बन्धी विवरण अहिले ट्रम्प अर्गनाइजेशनको वेबसाइटबाट हटाइएको छ । संस्थाकी प्रवक्ता किम्बर्ली बेन्जाले परियोजना अघि बढाउने साझेदार कम्पनीले आवश्यक दायित्व पूरा गर्न नसकेको आरोप लगाएकी छन् ।
तर डेभलपर कम्पनी एल्टस प्रपर्टी ग्रुपले भने त्यो दाबी अस्वीकार गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत डेभिड योङले इरान युद्धलगायतका घटनापछि ट्रम्प ब्रान्ड अष्ट्रेलियामा विवादास्पद बन्दै गएको बताएका छन् ।
उनले विज्ञप्तिमार्फत “हामीले केही समयअघि नै अलग हुने निर्णय गर्नुपर्छ भन्ने बुझिसकेका थियौं । यो दायित्व पूरा नगरेको विषय मात्र होइन,” भन्दै परियोजना अझै जीवित रहेको र अन्य लक्जरी ब्रान्डसँग सहकार्यको विकल्प खुला रहेको बताएका छन् ।
उता ट्रम्प अर्गनाइजेशनले भने परियोजनालाई लिएर आफूहरू उत्साहित रहेको तर साझेदार कम्पनीले सम्झौताअनुसारका आधारभूत वित्तीय दायित्व समेत पूरा गर्न नसकेको दाबी गरेको छ ।

टिप्पणी थप्नुहोस्