क्युबामा इन्धनकाे चरम अभाव भएकाे छ । क्युबामा डिजेल लगायत इन्धन पूर्ण रूपमा सकिएको छ ।
देशका ऊर्जा मन्त्री भिसेन्टे दे ला ओ लेभीले सरकारी सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा अहिले देशको ऊर्जा प्रणाली “गम्भीर संकट” मा पुगेको बताएका हुन् । उनका अनुसार क्युबासँग अहिले सीमित मात्रामा ग्यास उपलब्ध भए पनि डिजेल र फ्युल आयल भने बिल्कुलै बाँकी छैन ।
अमेरिकी नाकाबन्दीका कारण तेल आपूर्ति रोकिँदा राजधानी हवाना लगायतका क्षेत्रमा दैनिक २० देखि २२ घण्टासम्म विद्युत् कटौती भइरहेको मन्त्री लेभीले बताएका छन् । यसका कारण अस्पतालहरूको सेवा प्रभावित भएको, विद्यालय र सरकारी कार्यालय बन्द गर्नुपरेको तथा पर्यटन क्षेत्रसमेत प्रभावित बनेको जनाइएको छ ।
यसैबीच लगातारको विद्युत् अवरोधपछि बुधबार हवानामा छिटफुट विरोध प्रदर्शनसमेत भएको रोयटर्सले जनाएको छ । क्युबाले परम्परागत रूपमा भेनेजुएला र मेक्सिकोबाट तेल आपूर्ति पाउँदै आएको भए पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई इन्धन पठाउने देशमाथि कर लगाउने चेतावनी दिएपछि ती आपूर्ति पनि घटेको बताइएको छ ।

टिप्पणी थप्नुहोस्