अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानसँग भइरहेको वार्तामा महत्वपूर्ण प्रगति भएको बताएका छन् । यद्यपी अझै पनि “केही काम बाँकी” रहेको उनको भनाई छ ।

राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसागको सम्झौता “धेरै हदसम्म तय भइसकेको” बताएका पछिलगत्तै विदेशमन्त्री मार्कोको यस्तो भनाई आएको हो । ट्रम्पले विशेषगरी महत्वपूर्ण समुद्री व्यापार मार्ग स्ट्रेट अफ हर्मुज पुनः सञ्चालन गर्ने विषयमा सहमति भएको संकेत दिएका थिए ।

उनले भनेका छन्, “सम्झौताका अन्तिम पक्ष र विवरणबारे अहिले छलफल भइरहेको छ, र छिट्टै घोषणा गरिनेछ ।”

यसैबीच, इरानका विदेशमन्त्रालयका प्रबक्ताले पछिल्लो सातामा अमेरिका र इरानबीच देखिएको निकटताले महत्वपूर्ण विषयहरूमा अन्तिम सहमति भइसकेको अर्थ नलाग्ने बताएका छन् ।

इरान र अमेरिकाले सुरुमा दुई साताको युद्धविराममा सहमति जनाएका थिए, जसलाई शान्ति वार्ता अगाडि बढाउन पछि थप लम्ब्याइएको थियो ।

इरानको अर्ध–सरकारी समाचार संस्थाका अनुसार, प्रारम्भिक मस्यौदा सम्झौतामा इरानले आफ्नो कुनै पनि आणविक सामग्री हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएको छैन ।

समाचार अनुसार, हालको मस्यौदा केवल युद्ध अन्त्य गर्ने विषयमा सीमित छ र यसमा इरानको आणविक कार्यक्रमबारे कुनै विस्तृत विवरण समावेश गरिएको छैन ।