आर्थिक सर्वेक्षण २०८२/८३ ले नेपालको औद्योगिक क्षेत्रमा क्रमिक सुधार देखिएको जनाएको छ। विशेषगरी खानी तथा उत्खनन, उत्पादनमूलक उद्योग तथा निर्माण क्षेत्रमा गत वर्षको तुलनामा सकारात्मक वृद्धि देखिएको हो।

सर्वेक्षणअनुसार खानी तथा उत्खनन क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर ३.५२ प्रतिशत पुग्ने अनुमान गरिएको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो वृद्धिदर १.३९ प्रतिशत मात्रै थियो। निर्माण क्षेत्रको गतिविधि बढ्नु र रोयल्टी संकलनमा वृद्धि हुनु यस सुधारका मुख्य कारण मानिएका छन्। तर, कुल गार्हस्थ उत्पादन (जीडीपी) मा यस क्षेत्रको योगदान भने ०.४५ प्रतिशतबाट घटेर ०.४३ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरिएको छ।

उत्पादनमूलक उद्योग क्षेत्रमा पनि सुधार देखिएको छ। सिमेन्ट, वनस्पति घिउ, कंक्रिट, फलामे रड, वायरिङ तार, जुट, बियर तथा सूर्तीजन्य वस्तुको उत्पादन बढेकाले उद्योग क्षेत्र चलायमान बनेको सर्वेक्षणले उल्लेख गरेको छ। साथै, भटमासको कच्चा तेल, कोइला तथा फलामे रडका कच्चापदार्थको आयात बढ्नु र बजारमा माग विस्तार हुनुले उद्योग क्षेत्रलाई थप टेवा पुगेको छ।

यसका आधारमा उत्पादनमूलक उद्योगको वृद्धिदर चालु आवमा २.८३ प्रतिशत पुग्ने अनुमान गरिएको छ, जुन गत वर्ष २.२७ प्रतिशत थियो। जीडीपीमा यस क्षेत्रको योगदान पनि ५.६६ प्रतिशतबाट बढेर ५.७२ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ।

त्यस्तै, लामो समयदेखि सुस्त रहेको निर्माण क्षेत्रमा पनि सुधारको संकेत देखिएको छ। अघिल्ला दुई आर्थिक वर्षमा ऋणात्मक वृद्धि देखिएको यो क्षेत्र गत वर्ष ०.९६ प्रतिशतले मात्रै बढेको थियो। चालु आर्थिक वर्षमा भने यसको वृद्धिदर २.२१ प्रतिशत पुग्ने अनुमान छ।

निर्माण सामग्रीको आयात र स्वदेशी उत्पादनमा भएको वृद्धिका कारण निर्माण क्षेत्रको मूल्य अभिवृद्धिमा सुधार आएको सर्वेक्षणमा उल्लेख गरिएको छ। जीडीपीमा निर्माण क्षेत्रको योगदान पनि ५.३५ प्रतिशतबाट बढेर ५.५२ प्रतिशत पुग्ने अनुमान गरिएको छ।