व्यवसायीमाथिको सरकारको पछिल्लो रवैयाले अर्थतन्त्र जोखिममा पर्ने भन्दै नेपाल निर्माण व्यवसायी महासंघले चेतावनी दिएको छ । महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एकपछि अर्को व्यवसायी पक्राउ गर्दा अर्थतन्त्रमा झड्का लागेको उल्लेख गरेको हो ।
संकटोन्मुख अर्थतन्त्र रहेको समयमा व्यवसायीमाथिको धरपकडले थप जोखिम उत्पन्न भएको उसको भनाई छ । महासंघका अध्यक्ष निकोलश पाण्डेले व्यवसायीमाथि राज्यका निकायबाट निरन्तर भइरहेको धरपकड र थुनछेकले त्रसित वातारण श्रृजना गरेको भन्दै गम्भीर आपत्ति जनाउनुभयो । निर्माण उद्योगसहित समग्र निजी क्षेत्र त्रसित एवं आतंकित हुनुपर्ने अवस्थामा अर्थतन्त्र, रोजगारी, आपूर्ती श्रृंखला, बैकिङ क्षेत्र र सम्पूर्ण प्रणालीमै गम्भीर धक्का पुगी संकटोन्मुख अवस्थामा रहेको मुलुकको अर्थतन्त्र थप जोखिममा पर्ने महासंघको तर्क छ ।
अनुसन्धानका नाममा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले निजी क्षेत्रलाई आतंकित तुल्याएको पाण्डेको आरोप छ ।
प्रणाली नै हृयाक गरी सार्वजनिक ठेक्का हात पारेको आरोपमा सिआईबीले महासंघका पूर्व अध्यक्ष विक्रम पाण्डे लगायतका निर्माण व्यवसायीलाई पक्राउ गरी हिरासतमा राखेको छ । यस्तै, उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छालगायत व्यवसायीलाई पनि हिरासतमा राखिएको छ । नयाँ सरकारले व्यवसायमैत्री वातावरण बनाउने अपेक्षा गरेका व्यवसायीलाई जथाभावी थुन्दा मुलुकमा लगानीको वातावरण विग्रदै जाने पाण्डेले बताउनुभयो ।

टिप्पणी थप्नुहोस्