नेपाल उद्योग वाणिज्य महासंघको नयाँ अध्यक्षका रुपमा अञ्जन श्रेष्ठले जिम्मेवारी सम्हालेका छन् । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्थाका कारण श्रेष्ठ नयाँ अध्यक्ष बनेका हुन् । अध्यक्षको कार्यकाल तीन वर्षको रहनेछ ।
महासंघको विधानको दफा २९(३) ले वरिष्ठ उपाध्यक्षलाई एक कार्यकालका लागि स्वतः अध्यक्ष बनाउने व्यवस्था गरेको छ । सोही प्रावधानअनुसार श्रेष्ठ अध्यक्ष पदमा पुगेका हुन् । यसअघि मंगलबार सम्पन्न कार्यकारिणी समिति निर्वाचनमा अध्यक्षबाहेक अन्य पदाधिकारी तथा सदस्यहरूको चयन भइसकेको छ र अन्तिम नतिजा सार्वजनिक भइसकेको छ ।
वरिष्ठ उपाध्यक्षबाट स्वतः अध्यक्ष बन्ने श्रेष्ठ चौथो व्यक्ति हुन् । यसअघि भवानी राणा, शेखर गोल्छा र चन्द्रप्रसाद ढकालले पनि यही प्रक्रियामार्फत महासंघको नेतृत्व सम्हालेका थिए ।
लक्ष्मी समूहका कार्यकारी निर्देशक रहेका श्रेष्ठले अटोमोबाइल, सेवा, पर्यटन तथा उत्पादनमूलक क्षेत्रमा लगानी गरेका छन् । उनी २०५९ सालमा महासंघको कार्यसमिति सदस्यका रूपमा आबद्ध भएका थिए र त्यसयता विभिन्न समितिहरूमा काम गर्दै आएका छन्। ५७औं साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका श्रेष्ठ २०४५ सालदेखि पारिवारिक व्यवसायमा सक्रिय छन् ।
बुधबारदेखि औपचारिक रूपमा अध्यक्षको जिम्मेवारी सम्हालेका श्रेष्ठले निजी क्षेत्रको नेतृत्व गर्दै आर्थिक गतिविधि र व्यवसायिक वातावरण सुदृढ पार्ने अपेक्षा गरिएको छ ।

टिप्पणी थप्नुहोस्