राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा आर्थिक अनियमितता गरेकाे आरोपमा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वअर्थमन्त्री कार्कीसहित पूर्वसचिव, सहसचिव र नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

विशेष अदालतमा दायर गरिएको आरोपपत्रमा अख्तियारले विमानस्थल निर्माणका क्रममा ठेकेदार चिनियाँ कम्पनीलाई नियमविपरीत कर छुट दिइएको उल्लेख गरेको छ । आयोगका अनुसार मूल खरिद सम्झौतामा कर तथा महसुल निर्माण लागतभित्रै समावेश गरिएको भए पनि सरकारी अधिकारी र निर्माण कम्पनीबीचको मिलेमतोमा पछि छुट दिने व्यवस्था गरिएको थियो ।

अख्तियारले यस प्रक्रियाबाट राज्यकोषमा ३ अर्ब ६२ करोड रुपैयाँभन्दा बढी नोक्सानी पुगेको दाबी गरेको छ । आयोगले प्रतिवादीहरूबाट सोही बराबरको बिगो असुलउपरसहित कैद र जरिवानाको माग गरेको जनाएको छ ।

मुद्दामा तत्कालीन अर्थसचिव शंकरप्रसाद अधिकारी, पर्यटन सचिव महेश्वर न्यौपाने, सहसचिवहरू सुरेश आचार्य, डण्डुराज घिमिरे, केवलप्रसाद भण्डारी, नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतम र प्रदीप अधिकारी लगायतलाई प्रतिवादी बनाइएको छ ।

त्यस्तै चिनियाँ निर्माण कम्पनी सीएएमसी र कम्पनीका पदाधिकारीलाई पनि मुख्य कसुरदारसरह सजाय माग गरिएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परियोजनामा अनियमितताको विषय यसअघि पनि सार्वजनिक बहसको केन्द्रमा रहँदै आएको थियो । अख्तियारले गत मंसिर र चैतमा समेत सम्बन्धित प्रकरणमा मुद्दा दायर गरिसकेको अवस्थामा पछिल्लो मुद्दाले परियोजनामाथिको विवादलाई थप गहिरो बनाएको छ ।