राष्ट्रिय आर्थिक गणना २०८२ आज शुरु भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार पत्रकार सम्मेलन गरेर दोश्रो आर्थिक गणनाका लागि स्थलगत तथ्यांक संकलन शुरु भएको जानकारी दिएको हो ।
‘अर्थतन्त्र मापनको लागि आर्थिक गणना’ भन्ने नाराका साथ आर्थिक गणना शुरु भएको हो । कार्यालयका प्रवक्ता एवं उपप्रमुख ढुण्डीराज लामिछानेले देशको अर्थतन्त्रको समग्र अवस्था तथा आकार तय गर्ने प्रयोजनका लागि गणना थालिएको बताउनुभयो ।
यसका लागि कार्यालयले ७७ जिल्लामा ८४ वटा जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरिसकेको छ । ४ हजार ४३३ जना तालिमप्राप्त गणक तथा सुपरिवेक्षकले आजदेखि असार ७ गतेसम्म स्थलगत रुपमा तथ्यांक संकलन गर्तेछन् ।
यस गणनाबाट प्राप्त विवरणको आधारमा आव २०८३÷८४ को सुरूदेखि नै तथ्यांक प्रशोधन, विश्लेषण गरी यसका नतिजाहरू क्रमशः सार्वजनिक गरिने कार्यालयले जनाएको छ ।
गणनाका लागि अन्तर्राष्ट्रिय औद्योगिक वर्गीकरणअनुसार २१ भागमा विभाजन गरिएको छ । ती क्षेत्रले अर्थतन्त्रमा पु¥याएको योगदान मापन हुँदै आएको छ ।






