निर्माण सामग्रीमा भएको चर्को मूल्यवृद्धिले व्यवसाय नै धरापमा परेको भन्दै निर्माण व्यवसायीहरूले तत्काल राहत दिन सरकारसँग माग गरेका छन् । निर्माण व्यवसायीले काठमाडौं जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री बालेन्द्र साहलाई मागसहितको ज्ञापनपत्र बुझाएका हुन् । उनीहरुले निर्माण उद्योगमा आपतकाल घोषणा गर्न समेत भनेका छन् ।

इन्धनलगायतका निर्माण सामग्रीहरूमा चर्को मूल्यवृद्धि भईरहेका बेला मंगलबार निर्माण व्यवसायीहरूले काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलमार्फत मागपत्र बुझाएको काठमाडौं उपत्यका निर्माण व्यवसायी संघका महासचिव पञ्चबहादुर तामाङले बताउनुभयो ।
निर्माण कार्य ठप्प हुनेगरी निर्माण सामग्रीहरुमा मूल्य वृद्धि भएको व्यवसायीको भनाई छ । व्यवसायीले निर्माण सामग्रीहरुको मूल्य समायोजन गरेर व्यवसायमैत्री बनाउन पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

‘प्रत्येक आयोजनामा मूल्यवृद्धि भएर हालको कानुनी व्यवस्थाबाट मूल्य समायोजन हुन नसक्ने हुादा मूल्य समायोजन तत्काल जारी गर्न र सबै अवधिका ठेक्काहरुको हकमा मूल्य समायोजन गरी मूल्य वृद्धिको समस्याबाट निकास दिन सरकारसाग हार्दिक अपिल गर्दछ,’ ज्ञापनपत्रमा भनिएको छ ।

संघले प्रधानमन्त्री साहलाई बुझाएको ज्ञापन पत्रमा निर्माण कार्य ठप्प हुने अवस्था आएकाले सरकारले इन्धन, निर्माण सामग्री लगायतमा भएको मूल्यवृद्धि तत्काल हटाउनुपर्नेमा जोड दिइएको छ ।