व्यवसायी शेखर गोल्छा रिहा भएका छन् । बिमा सम्बन्धी मुद्दामा थप अनुसन्धानका लागि हिरासतमा राख्न अदालतले अनुमति नदिएपछि उनी रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंले प्रहरीको म्याद थप माग अस्वीकार गरेको हो ।
यसअघि धितोपत्र सम्बन्धी कसुरमा सर्वोच्च अदालतको आदेशअनुसार ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका गोल्छालाई सोही दिन बिमा ऐन अन्तर्गत पुनः पक्राउ गरिएको थियो । केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले अनुसन्धानका लागि म्याद थप माग गरे पनि न्यायाधीश मोना सिंहको इजलासले त्यसलाई अस्वीकार गरेको हो ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत रहेका गोल्छाको हिरासतबारे सर्वोच्च अदालतले यसअघि नै गम्भीर प्रक्रियागत त्रुटि भएको ठहर गर्दै परमादेश जारी गरेको थियो । न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले उनलाई थुनामा राख्ने जिल्ला अदालतको आदेश बदर गर्दै धरौटी वा जमानतमा रिहा गर्नुपर्ने स्पष्ट पारेको थियो ।
त्यसपछि गोल्छा धितोपत्र मुद्दामा रिहा भए पनि प्रहरीले बिमा सम्बन्धी छुट्टै मुद्दामा पक्राउ पुर्जी जारी गरी पुनः नियन्त्रणमा लिएको थियो । तर, सो मुद्दामा पनि अदालतले म्याद थप गर्न नमानेपछि उनी फेरि मुक्त भएका हुन् ।
यस प्रकरणमा हिमालयन रि–इन्सुरेन्सले सेयर दलाल कम्पनी भृकुटी ब्रोकरलाई झन्डै ३ अर्ब रुपैयाँ अग्रिम उपलब्ध गराएको र ऊक्त रकम व्यत्तिगत नाममा सेयर खरिद गरी दुरुपयोग गरिएको विषयमा सिआईबीले अनुसन्धान गरिरहेको छ ।
नेपाल धितोपत्र बोर्डको अध्ययन प्रतिवेदनले उक्त रकमबाट गोल्छाले प्रत्यक्ष लाभ लिएको प्रमाण नदेखिए पनि उनी त्यसबेला कम्पनीको अध्यक्ष रहेकाले दुरुपयोगमा सहकार्य गरेको हुनसक्ने संकेत गरेको छ ।

टिप्पणी थप्नुहोस्