नेपाल उद्योग वाणिज्य महासंघले विभिन्न आर्थिक मुद्दाको अनुसन्धानका नाममा उद्योगी, निर्माण व्यवसायी तथा बैंकरहरूलाई पक्राउ गर्ने क्रम बढेको भन्दै गम्भीर चासो व्यक्त गरेको छ । महासंघले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा यस्ता गतिविधिले मुलुकको व्यावसायिक वातावरणमा त्रास सिर्जना गरेको उल्लेख गरेको हो ।

विज्ञप्तिमा निजी क्षेत्र अर्थतन्त्रको प्रमुख आधार भएकाले नेतृत्वदायी व्यवसायीहरूलाई फौजदारी अभियोगको शैलीमा पक्राउ गर्दा लगानीकर्ता र व्यावसायिक समुदायमा नकारात्मक सन्देश गएको जनाइएको छ । विशेषगरी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पक्राउ पर्नुले बैंकिङ क्षेत्रको विश्वसनीयतामा असर पर्न सक्ने तथा कर्जा प्रवाहमा समेत संकुचन आउने महासंघको भनाइ छ ।

महासंघले प्रारम्भिक अनुसन्धान नै पूरा नगरी पक्राउ गर्ने र ‘मिडिया ट्रायल’ गर्ने प्रवृत्तिले व्यक्तिको प्रतिष्ठामा गम्भीर असर पर्ने जनाएको छ । संविधानले सुनिश्चित गरेको ‘कसुर प्रमाणित नभएसम्म दोषी नमानिने’ सिद्धान्तको सम्मान गर्न सरकारसँग आग्रह गर्दै महासंघले निजी क्षेत्रप्रति संवेदनशील हुन अपिल गरेको छ ।