चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा नेपालमा ४५ अर्ब रुपैयाँभन्दा बढीको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता आएको छ ।
उद्योग विभागका अनुसार साउनदेखि वैशाखसम्म ७२८ परियोजनामार्फत ४५ अर्ब ३२ करोड १६ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको हो । चैतसम्म ६१५ परियोजनाबाट ४१ अर्ब ७९ करोड ८५ लाख रुपैयाँ प्रतिबद्धता आएकोमा वैशाख महिनामा मात्रै थप ११३ परियोजनाबाट तीन अर्ब ५२ करोड ३० लाख रुपैयाँ प्रतिबद्धता थपिएको विभागले जनाएको छ ।
क्षेत्रगत रूपमा सबैभन्दा धेरै लगानी कृषिमूलक उद्योगमा आएको छ । १६ कृषिमूलक परियोजनामा २२ अर्ब आठ करोड ८० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । पर्यटन क्षेत्रका १८९ परियोजनामा १२ अर्ब ५४ करोड ७० लाख रुपैयाँ , सेवामूलक ५५ परियोजनामा चार अर्ब २३ करोड २४ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।
उत्पादनमूलक ४२ परियोजनामा दुई अर्ब ७० करोड, पूर्वाधार क्षेत्रको एक परियोजनामा एक अर्ब ६५ करोड तथा सूचना प्रविधि क्षेत्रका ४२१ परियोजनामा एक अर्ब ७४ करोड ३८ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
नेपाल राष्ट्र बैङ्कका अनुसार चालु आवको नौ महिनामा वास्तविक रूपमा १४ अर्ब ५५ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी नेपाल भित्रिएको छ । गत वर्षको सोही अवधिमा यस्तो लगानी आठ अर्ब ९४ करोड रुपैयाँ रहेको थियो । प्रतिबद्धता रकम उच्च देखिए पनि वास्तविक लगानी भने अपेक्षाअनुसार भित्रिन नसकेको देखिएको छ ।

टिप्पणी थप्नुहोस्