नेपालको पूँजी बजारमा पछिल्लो समय निर्माण तथा पूर्वाधारसँग सम्बन्धित कम्पनीहरूको अवस्था मिश्रित देखिएको छ । विशेषगरी सिमेन्ट, निर्माण सामग्री, र ठूला पूर्वाधार परियोजनासँग जोडिएका कम्पनीहरूको सेयरमा दबाब कायम रहे पनि केही कम्पनीहरूले क्रमशः सुधारको संकेत देखाउन थालेका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत निर्माण क्षेत्रसँग सम्बन्धित कम्पनीहरूको कारोबार घट्दो आर्थिक गतिविधि, सरकारी पूँजीगत खर्चमा सुस्तता तथा बैंकिङ क्षेत्रमा लगानी विस्तार हुन नसक्दा प्रभावित भएको विश्लेषकहरूको भनाइ छ ।

नेपालको निर्माण क्षेत्र अहिले अर्थतन्त्रको समग्र अवस्थासँग प्रत्यक्ष रूपमा जोडिएको छ । बैंकहरूमा तरलता पर्याप्त भए पनि निजी क्षेत्रको लगानी विस्तार हुन नसकेको अवस्था छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा ठूलो परिमाणमा लगानीयोग्य पुँजी थुप्रिएको र त्यसको प्रभाव निर्माण क्षेत्रमा समेत परेको देखिन्छ। घरजग्गा कारोबार सुस्त हुँदा सिमेन्ट, डन्डी, निर्माण सामग्री तथा ठेक्का व्यवसायमा संलग्न कम्पनीहरूको आम्दानीमा दबाब परेको छ ।

विश्लेषकहरूका अनुसार नेपालमा निर्माण क्षेत्र आर्थिक वृद्धिको प्रमुख आधार भए पनि सरकारी विकास बजेट खर्च कमजोर हुँदा निजी क्षेत्रको मनोबल घटेको छ । ठूला आयोजनामा ढिलाइ हुनु, ठेक्का भुक्तानीमा समस्या आउनु तथा बैंक ऋण प्रवाह अपेक्षाअनुसार बढ्न नसक्नुले निर्माण कम्पनीहरूको वित्तीय अवस्था प्रभावित भएको हो । यसले नेप्सेमा निर्माण तथा उत्पादन समूहका कम्पनीहरूको सेयर मूल्यमा पनि असर देखिएको छ ।

यद्यपि, दीर्घकालीन रूपमा भने निर्माण क्षेत्रलाई नेपालको आर्थिक पुनरुत्थानको प्रमुख आधारका रूपमा हेरिएको छ । सरकारले पूर्वाधार, सडक, ऊर्जा तथा सहरी विकास परियोजनामा खर्च बढाउन सके निर्माण क्षेत्र पुनः चलायमान हुने अपेक्षा गरिएको छ । त्यसको प्रत्यक्ष प्रभाव नेप्सेमा सूचीकृत सिमेन्ट, स्टिल तथा पूर्वाधार कम्पनीहरूको सेयरमा देखिन सक्ने अनुमान गरिएको छ ।

नेपालको अर्थतन्त्र अहिले रेमिट्यान्समा अत्यधिक निर्भर रहे पनि दिगो आर्थिक वृद्धि निर्माण, उद्योग र उत्पादन क्षेत्रको विस्तारबिना सम्भव नहुने अर्थविद्हरूको निष्कर्ष छ । निर्माण क्षेक्र सत्रिय हुादा रोजगारी, बैंकिङ कर्जा प्रवाह, उद्योग उत्पादन तथा बजार माग सबै क्षेत्रमा सकारात्मक प्रभाव पर्ने भएकाले यसलाई अर्थतन्त्रको ‘मल्टिप्लायर सेक्टर’ का रूपमा हेरिन्छ ।