अमेरिका–इजरायल र इरानबीचको युद्ध अन्त्य हुन सक्ने सम्भावित सम्झौताप्रति आशा बढेसँगै विश्व बजारमा तेलको मूल्य तीव्र रूपमा घटेको छ भने एशियाली शेयर बजार उकालो लागेको छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारत भ्रमणका क्रममा वार्ताकारहरूसँग बलियो प्रस्ताव रहेको र सोमबारसम्ममा युद्ध अन्त्य गर्ने सहमति हुन सक्ने बताएका छन् ।

सोमबार एशियाली बजार खुल्दा विश्वव्यापी तेल मापक ब्रेन्ट क्रुडको मूल्य ५.५ प्रतिशतले घटेर प्रतिबारेल ९७.९० डलर पुगेको छ। अमेरिकी बजारमा कारोबार हुने क्रुड तेलको मूल्य पनि ५.९ प्रतिशतले घटेर ९०.९३ डलरमा झरेको छ ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्भावित सम्झौतामा महत्वपूर्ण “स्ट्रेट अफ होर्मुज” जलमार्ग पुनः सञ्चालन गर्ने विषय समावेश हुने बताएका थिए ।

विश्वको करिब पाँचौं हिस्सा तेल तथा तरल प्राकृतिक ग्यास  ओसारपसार हुने उक्त साँघुरो समुद्री मार्ग २८ फेब्रुअरीदेखि युद्धका कारण प्रभावकारी रूपमा बन्द रहेको थियो ।

युद्ध अन्त्य र जलमार्ग खुल्ने आशाले जापानको निक्केई २२५ शेयर सूचकांक ३ प्रतिशतले बढ्दै पहिलोपटक ६५ हजार अंक नाघेको छ। जापान र दक्षिण कोरिया जस्ता देशहरू खाडी क्षेत्रको ऊर्जामा अत्यधिक निर्भर भएकाले उनीहरू युद्धबाट विशेष प्रभावित भएका थिए ।

सोमबार बेलायत र अमेरिकाका ऊर्जा तथा वित्तीय बजार सार्वजनिक बिदाका कारण बन्द छन् ।

रुबियोले नयाँदिल्लीमा पत्रकारहरूसँग कुरा गर्दै बताएका छन्, “हामी अझै प्रक्रिया मै छौं । हिजो राति नै समाचार आउने आशा थियो, सम्भवतः आज आउन सक्छ ।”

उनको भनाइ केही समयअघि ट्रम्पले वार्तालाई हतार नगर्न निर्देशन दिएको अभिव्यक्तिपछि आएको हो ।

ट्रम्पले शनिबार सामाजिक सञ्जालमार्फत साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार लगायत देशका नेताहरूसँग “शान्तिसम्बन्धी समझदारी” विषयमा सकारात्मक वार्ता भएको बताएका थिए ।

उनका अनुसार अमेरिका, इरान तथा अन्य देशबीच सम्झौताको अधिकांश भाग तय भइसकेको छ र अन्तिम विवरणमाथि छलफल भइरहेको छ ।

ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग पनि शनिबार सकारात्मक टेलिफोन वार्ता भएको बताएका छन् ।

यद्यपि उनले सम्झौताका विस्तृत पक्ष सार्वजनिक गरेका छैनन् । उनले भने सम्भावित सहमतिले इरानलाई आणविक हतियार प्राप्त गर्न पूर्ण रूपमा रोक्ने दाबी गरेका छन् ।

तर आइतबार उनले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा दुवै पक्षले समय लिएर सही निर्णय गर्नुपर्ने र गल्तीको ठाउ नरहेको भनेर सावधानी पनि व्यक्त गरेका थिए ।

इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकीले पछिल्लो एक सातामा अमेरिका र इरानका धारणा केही नजिकिएको बताएका छन्। तर उनले महत्वपूर्ण मुद्दामा अझै सहमति नभइसकेको र अमेरिकी पक्षबाट विरोधाभासी अभिव्यक्ति आइरहेको आरोप लगाएका छन् ।

मार्चको सुरुवातदेखि इरानले स्ट्रेट अफ होर्मुज प्रयोग गर्ने जहाजमाथि आक्रमण गर्ने चेतावनी दिएपछि विश्व ऊर्जा बजारमा ठूलो उतारचढाव देखिएको थियो ।

हाल तेलको मूल्य घटे पनि युद्धअघि भन्दा अझै उच्च स्तरमै छ । युद्ध सुरु हुनुअघि कच्चा तेल प्रतिबारेल करिब ७० डलरमा कारोबार भइरहेको थियो।

तेहरानले इजरायलसँगै अमेरिका समर्थित खाडी राष्ट्रहरू साउदी अरेबिया, बहराइन र संयुक्त अरब इमिरेट्समाथि पनि आक्रमण गरेको थियो।

अप्रिलको सुरुवातमा युद्धविराम भएपछि वासिङ्टन र तेहरानबीच दीर्घकालीन शान्ति सम्झौताका लागि वार्ता जारी छ।

एमएसटी फाइनान्सियलका ऊर्जा अनुसन्धान प्रमुख साउल काभोनिचका अनुसार सुरुङको अन्त्यमा केही उज्यालो देखिएको छ, जसले छोटो अवधिमा तेलको मूल्यमा राहत दिन सक्छ ।

तर उनले आशावादी अवस्था आए पनि २०२७ सम्म तेल बजार दबाबमै रहने बताएका छन्। उनका अनुसार स्ट्रेट अफ होर्मुजमार्फत तेल आपूर्ति सामान्य हुन, क्षतिग्रस्त तेल पूर्वाधार मर्मत गर्न र युद्धका कारण घटेका विश्व तेल भण्डार पुनः निर्माण गर्न समय लाग्नेछ।