बाढी र पहिरोका कारण क्षतीग्रस्त बीपी राजमार्गअन्तर्गत बरखे खोलादेखि सुख्खा पहिरोसम्मको ३.२ किलोमिटर सडक खण्डको पूनःनिर्माण आज शुरु भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को आर्थिक सहयोगमा पुनर्निर्माण हुन लागेको हो ।

जापानी राजदूत माइदा तोरु र पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले संयुक्त रूपमा उक्त सडक खण्डको आज शिलन्यास गर्नुभएको छ । भौगोलिक रूपमा अत्यन्त जटिल मानिएको यो खण्ड पुनर्निर्माणका लागि जापान सरकारले २ अर्ब ६० करोड रुपैयाँ अनुदान सहयोग उपलब्ध गराएको हो भने बाँकी लागत नेपाल सरकारले व्यहोर्नेछ ।

जाइकाले निर्माण गर्ने सडक खण्डमा २० देखि ३० मिटर लम्बाइका केही छोटा सुरुङमार्ग समेत निर्माण गरिनेछ । भक्तपुर–काभ्रेप्लाञ्चोक सडक डिभिजन कार्यालयका अनुसार निर्माण कार्य आगामी १९ महिनाभित्र अर्थात् सन् २०२७ डिसेम्बरसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आवश्यक ठेकेदार छनोटदेखि प्राविधिक अध्ययनसम्मको काम जाइकाले नै गरेको छ भने निर्माण कम्पनीले साइटमा पुगेर प्रारम्भिक काम सुरु गरिसकेको बताइएको छ ।

गत वर्षको अविरल वर्षा र पहिरोका कारण बर्दिवास–धुलिखेल जोड्ने १६० किलोमिटर लामो बीपी राजमार्गको २८ किलोमिटर सडक खण्ड क्षतिग्रस्त भएको थियो । विशेषगरी रोशी खोला आसपासका क्षेत्र पूर्ण रूपमा बगेपछि राजमार्ग सञ्चालनमा समस्या हुँदै आएको छ । सरकारले क्षतिग्रस्त सडकलाई चार भागमा विभाजन गरी पुनर्निर्माण अघि बढाएको छ । अब पुनर्निर्माण हुने सम्पूर्ण सडक ढलसहित १० मिटर चौडाइको दुई लेनमा विस्तार गरिनेछ भने माइक्रो पाइल र आरसीसी संरचनामार्फत थप सुरक्षित र दीर्घकालीन बनाइने सडक विभागले जनाएको छ ।