नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) आकर्षित गर्न नीतिगत स्थिरता, लगानी सुरक्षाको सुनिश्चितता र पारदर्शी प्रशासन आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सोमबार आयोजना गरेको ‘नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको गाँठो कसरी फुकाउने’ विषयक अन्तरक्रियामा सहभागीहरूले नेपाल अझै विदेशी लगानीकर्ताका लागि विश्वसनीय गन्तव्य बन्न नसकेको धारणा राखे ।

उनीहरूका अनुसार अस्थिर कर नीति, कमजोर पूर्वाधार, प्रशासनिक झन्झट, दक्ष जनशक्तिको अभाव तथा भ्रष्टाचारजन्य प्रवृत्तिले लगानीकर्तालाई निरुत्साहित गरिरहेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो नौ महिनामा ४१ अर्ब ७१ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आए पनि वास्तविक लगानी भने २४ अर्ब ९८ करोड रुपैयाँ मात्रै भित्रिएको छ । यो कुल प्रतिबद्धताको करिब ५९.८४ प्रतिशत हो । सबैभन्दा बढी लगानी चैत महिनामा १४ अर्ब १५ करोड रुपैयाँ भित्रिएको तथ्यांकले देखाउँछ ।

अधिवक्ता सेमन्त दाहालले नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा विदेशी लगानीको योगदान १ प्रतिशतभन्दा कम रहेको उल्लेख गर्दै यसलाई ४–५ प्रतिशतसम्म पुर्‍याउने लक्ष्य लिनुपर्ने बताए । उनका अनुसार विदेशी लगानी आकर्षित गर्न कानुनी र प्रशासनिक सुधारसँगै लगानीकर्तालाई विश्वस्त बनाउने वातावरण निर्माण अपरिहार्य छ । “पुँजी अत्यन्त डरपोक हुन्छ, त्यसैले लगानीकर्ताले सुरक्षित र स्थिर वातावरण खोज्छन्,” उनले भने ।

नेपाल–भारत वाणिज्य तथा उद्योग महासंघ (निक्की) बिजनेस फोरमका संयोजक साइवल घोषले नीतिगत स्थिरता र लगानी सुरक्षाबिनाको एफडीआई सम्भव नहुने बताए । प्रजातन्त्र पुनःस्थापनापछि नेपालमा एफडीआईको वातावरण बने पनि पछिल्ला वर्षमा आर्थिक शिथिलता, भूकम्प, कोभिड महामारी र नीतिगत अन्योलले लगानी प्रभावित भएको उनको भनाइ थियो । उनले लगानीकर्ताले लगानीको सुरक्षा, नाफा फिर्ता लैजान पाउने व्यवस्था, ब्रान्ड स्वामित्वको संरक्षण र स्थिर नीति खोज्ने बताए ।

दाहालले नेपालमा अझै पनि विदेशी लगानीकर्ताप्रति भेदभावपूर्ण व्यवहार र प्रशासनिक जटिलता कायम रहेको उल्लेख गरे । विशेषगरी स्वीकृति र क्लियरेन्स प्रक्रियामा हुने ढिलासुस्ती, अनौपचारिक ‘नजराना’ संस्कृतिले लगानी वातावरण कमजोर बनाएको उनको धारणा थियो । “एकद्वार प्रणाली भनिए पनि व्यवहारमा लगानीकर्ता धेरै कार्यालय धाउन बाध्य छन्,” उनले भने ।

सूर्य नेपाल प्रालिका कर्पोरेट अफेयर्स उपाध्यक्ष रवि केसीले नेपाल औद्योगिकीकरणका लागि उपयुक्त मुलुक भए पनि नीतिगत अस्थिरता, जग्गा नीति र पूर्वाधार अभावका कारण विदेशी लगानी आकर्षित गर्न नसकिएको बताए । उनका अनुसार नेपाल भौगोलिक रूपमा विशाल बजार नजिक रहेको र सस्तो तथा स्वच्छ विद्युत्को सम्भावना भएको मुलुक हो । तर उद्योगका लागि आवश्यक जग्गा, सडक, बिजुली तथा विशेष आर्थिक क्षेत्र (सेज) प्रभावकारी नहुँदा लगानीकर्ताले अपेक्षित वातावरण पाउन सकेका छैनन् ।

केसीले उद्योग स्थापना र ब्रान्ड निर्माणमा लामो समय लाग्ने भएकाले लगानीकर्ताले दीर्घकालीन नीतिगत स्थिरता खोज्ने बताए । प्रदेश र स्थानीय तहका फरक–फरक कर प्रणालीले उद्योगीमाथि थप भार परेको उनको भनाइ थियो । उनले उत्पादनमुखी उद्योगलाई प्रोत्साहन गर्न कच्चा पदार्थ आयातमा सहजीकरण र उद्योगमैत्री नीति आवश्यक रहेको बताए ।

कार्यक्रममा सहभागीहरूले नेपालमा विदेशी लगानी आकर्षित गर्न दीर्घकालीन आर्थिक सुधार, प्रशासनिक पारदर्शिता, दक्ष जनशक्ति विकास र उत्पादनमुखी उद्योग प्रवर्द्धनमा केन्द्रित नीति आवश्यक रहेको निष्कर्ष निकाले ।