चालु आर्थिक वर्ष २०८२/८३ मा बागमती र गण्डकी प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा बलियो हुने देखिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको प्रादेशिक लेखा तथ्यांक अनुमान अनुसार चालु आवमा मुलुकको समग्र आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने अनुमान छ, जसलाई बागमती र गण्डकी दुवैले उछिनेका छन्।
कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी तथा प्रवक्ता ढुण्डीराज लामिछानेका अनुसार यस वर्ष सबैभन्दा कमजोर आर्थिक वृद्धिदर मधेस प्रदेशको रहनेछ। मधेसको अर्थतन्त्र जम्मा १.३१ प्रतिशतले मात्र विस्तार हुने प्रारम्भिक अनुमान छ।
यस वर्ष बागमती प्रदेश ५.४० प्रतिशतको आर्थिक वृद्धिदरसहित देशकै पहिलो स्थानमा छ भने गण्डकी ५.०१ प्रतिशतसहित दोस्रो स्थानमा छ।
चालु आव २०८२/८३ को प्रदेशगत आर्थिक वृद्धिदर:
- बागमती : ५.४०%
- गण्डकी : ५.०१%
- सुदूरपश्चिम : ३.३८%
- कोशी : ३.३१%
- कर्णाली : २.९४%
- लुम्बिनी : २.८७%
- मधेस : १.३१%
- राष्ट्रिय औसत : ३.८५%
गत आर्थिक वर्षको तुलनामा यस वर्ष कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमको आर्थिक वृद्धिदरमा सुधार आएको छ। तर, मधेस (गत वर्ष ४.४३%), लुम्बिनी (गत वर्ष ४.२७%) र कर्णाली (गत वर्ष ५.२५%) को वृद्धिदरमा भने यस वर्ष भारी गिरावट आएको छ।
६६ खर्बको अर्थतन्त्रमा बागमतीकै हालिमुहाली
चालु आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ उत्पादन (GDP) को आकार उपभोक्ता मूल्यमा ६६ खर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ। यस महासागरमा सबैभन्दा ठूलो हिस्सा बागमती प्रदेश एक्लैको छ। बागमतीले २४ खर्ब २३ अर्ब अर्थात् कुल अर्थतन्त्रको ३६.७ प्रतिशत हिस्सा ओगटेको छ।
| प्रदेश | जीडीपीमा योगदान (रुपैयाँ) | हिस्सा (%) |
| बागमती | २४ खर्ब २३ अर्ब | ३६.७% |
| कोशी | १० खर्ब ४३ अर्ब | १५.८% |
| लुम्बिनी | ९ खर्ब ३७ अर्ब | १४.२% |
| मधेस | ८ खर्ब ६३ अर्ब | १३.१% |
| गण्डकी | ५ खर्ब ९३ अर्ब | ९.०% |
| सुदूरपश्चिम | ४ खर्ब ६४ अर्ब | ७.०% |
| कर्णाली | २ खर्ब ७७ अर्ब | ४.२% |
औद्योगिक वर्गीकरण अनुसार बागमती प्रदेशबाहेक बाँकी सबै ६ वटा प्रदेशको अर्थतन्त्रमा कृषिको योगदान सबैभन्दा बढी छ। बागमती प्रदेशमा भने थोक तथा खुद्रा व्यापार क्षेत्रको योगदान सबैभन्दा उच्च छ, जहाँ घरजग्गा कारोबार दोस्रो स्थानमा आउँछ।
यस वर्ष राष्ट्रिय तहमा सबैभन्दा बढी वृद्धि बिजुली र ग्यास क्षेत्रमा (२९३ प्रतिशत) हुने अनुमान छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीमा पनि यही क्षेत्रको वृद्धिदर उच्च रहनेछ। कर्णाली र सुदूरपश्चिममा भने वित्तीय तथा बीमा सेवाको वृद्धिदर सबैभन्दा बढी हुने कार्यालयको प्रक्षेपण छ।
मधेस प्रदेशमा कृषिको वार्षिक वृद्धिदर तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रको वृद्धिदर यस वर्ष ऋणात्मक रहने अनुमान गरिएको छ।
आम्दानीका हिसाबले पनि बागमती प्रदेशका नागरिक अन्य प्रदेशको तुलनामा निकै अगाडि छन्। चालु आवमा राष्ट्रिय औसत प्रतिव्यक्ति आय १,५१३ अमेरिकी डलर रहने अनुमान हुँदा बागमतीको प्रतिव्यक्ति आय त्यसको झन्डै दोब्बर अर्थात् २,६४४ अमेरिकी डलर पुग्नेछ।
प्रदेशगत प्रतिव्यक्ति आय (अमेरिकी डलरमा):
१. बागमती : २,६४४ डलर
२. गण्डकी : १,६५१ डलर
३. कोशी : १,४१० डलर
४. लुम्बिनी : १,२०८ डलर
५. सुदूरपश्चिम : १,१७० डलर
६. कर्णाली : १,१०८ डलर
७. मधेस : ९३४ डलर
तथ्यांकले प्रादेशिक सन्तुलनमा अझै ठूलो खाडल रहेको देखाउँछ, जहाँ बागमती र मधेस प्रदेश बीचको प्रतिव्यक्ति आयमा करिब १७१० डलरको अन्तर छ।
टिप्पणी थप्नुहोस्